Section 13
उजूरी गर्न सकिने
(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर कसैले गरेको, गर्न लागेको वा गरिरहेको कुरा थाहा पाउने कुनै पनि व्यक्तिले विभाग समक्ष लिखित वा मौखिक रुपमा उजूरी, निवेदन, जानकारी वा सूचना दिन सक्नेछ । (२) उपदफा (१) बमोजिमको उजूरी, निवेदन, जानकारी वा सूचना लिखित रुपमा प्राप्त भएमा विभागले त्यस्तो सूचना दर्ता गर्नु पर्नेछ र मौखिक रुपमा प्राप्त भएकोमा त्यस्तो उजूरी, सूचना वा जानकारीलाई लिखित रुप दिई दर्ता गर्नु पर्नेछ । तर आफ्नो नाम, ठेगाना गोप्य राख्ने गरी कसैले उजूरी दिएकोमा उजूरी दर्ता गर्दा उजूरीकर्ताको नाम ठेगानाको सट्टा विभागको प्रमुखले तोकिदिए बमोजिमको संकेत राखी त्यस्तो उजूरी दर्ता गर्नु पर्नेछ । (३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको, गर्न लागेको वा गरिरहेको कुरा विभाग वा विभागको कुनै कर्मचारीलाई कुनै व्यहोराले थाहा हुन आएमा त्यस्तो व्यहोरालाई उजूरीको रुपमा दर्ता गर्नु पर्नेछ । (४) उपदफा (१) वा (२) बमोजिम प्राप्त भएको उजुरीको औचित्यता हेरी उजुरी सनाखत गराउनु पर्ने देखिएमा सम्बन्धित उजुरीकर्तालाई झिकाई सनाखत गराउन सकिनेछ । (५) उपदफा (४) बमोजिम सनाखत गर्ने व्यक्तिले आफ्नो नाम, ठेगाना गोप्य राख्न चाहेमा निजको नाम, ठेगाना गोप्य राख्नु पर्नेछ ।